नेपाली कांग्रेसको नयाँ कार्यसमिति भोलि सानेपा प्रवेश गर्दै, केन्द्रीय समिति बैठक पनि त्यहीँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपा जाने भएको छ। साथै, त्यहीँ केन्द्रीय समिति बैठक पनि आयोजना गरिने भएको छ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पनि नयाँ कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय पुगेको थिएन। यस अवधिमा दुई पटक केन्द्रीय कार्यसमिति तथा संसदीय बोर्डका बैठकहरू पार्टी प्यालेस र होटलहरूमा सम्पन्न भएका थिए।

पार्टी प्रवक्ता देवराज चालिसेले सभापतिसहित कार्यसमिति भोलि सानेपा जाने जानकारी दिए। “सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं। त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ,” उनले बताए।

उनका अनुसार अधिकांश नेताहरू प्रतिनिधि सभा निर्वाचनका लागि आ–आफ्ना क्षेत्रमा गइसकेकाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूबीच मात्रै भोलि दिउँसो बैठक बस्नेछ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको असहमतिका बीच विशेष महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएको थियो। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ। यद्यपि, त्यसविरुद्ध निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतले यस विषयमा कुनै अन्तरिम आदेश नदिएको छ। यसअघि देउवा पक्ष निकट तरूण दलका नेता–कार्यकर्ताहरू केही दिन केन्द्रीय कार्यालय सानेपामा बसेका थिए भने अहिले उनीहरूले कार्यालय छाडिसकेका छन्।

तरूण दल अध्यक्ष विद्वान गुरूङले विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। अध्यक्ष गुरूङसहित उनका निकट कार्यकर्ताहरू केही दिन सानेपामा बसेका थिए।

उल्लेखनीय छ, भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी भएको थियो। आगलागीबाट क्षति पुगेको भवनको मर्मत कार्य हाल जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर