चीनका शीर्ष सैनिक जनरल झाङ युसियामाथि छानबिन, सैन्य नेतृत्वमा फेरि कडाइ

चीनका उच्चपदस्थ सैनिक अधिकारी झाङ युसियामाथि “गम्भीर अनुशासन उल्लङ्घन तथा कानुनी त्रुटि”को आशंकामा छानबिन सुरु गरिएको चीनको रक्षा मन्त्रालयले जनाएको छ। झाङलाई राष्ट्रपति सी जिनपिङका सबैभन्दा नजिकका सैन्य सहयोगीमध्ये एकका रूपमा हेरिन्छ।

७५ वर्षीय झाङ चीनका सबैभन्दा उच्च दर्जाका जनरल हुन्। उनी शक्तिशाली केन्द्रीय सैन्य आयोग”का दुई उपाध्यक्षमध्ये वरिष्ठ हुन्, जुन चीनको सर्वोच्च सैन्य निकाय हो। उनी चिनियाँ कम्युनिस्ट पार्टीको २४ सदस्यीय कार्यकारी निकाय पोलिटब्युरोका सदस्य समेत हुन्।

रक्षा मन्त्रालयले CMC का अर्का सदस्य लिउ झेन्लीमाथि पनि अनुसन्धान भइरहेको जनाएको छ। लिउ संयुक्त स्टाफ विभागका प्रमुख हुन्, जसले सेनाको लडाइँसम्बन्धी रणनीति तथा योजना हेर्ने गर्छ।

मन्त्रालयले भने आरोपको प्रकृति वा विवरण सार्वजनिक गरेको छैन। पछिल्ला वर्षहरूमा चिनियाँ सैन्य संरचनाभित्र वरिष्ठ अधिकारीहरूमाथि अनुशासन र भ्रष्टाचारका मुद्दामा छानबिन तथा कारबाही बढ्दै गएको देखिन्छ, जसलाई नेतृत्वले सैन्य संरचना सुदृढ गर्ने प्रयासको रूपमा प्रस्तुत गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर