काठमाडौं, १४ माघ। नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ। बुधबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च स्तरमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले वृद्धि भई ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
लगातार बढ्दो अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुनचाँदीको भाउ उकालो लागिरहेको व्यवसायीहरू बताउँछन्।




