निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको अपिल: नआत्तिनुहोस्, सचेत र सजग रहनुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरससम्बन्धी विश्वका केही देशमा देखिएका घटनाप्रति नेपाल पनि पूर्ण रूपमा सचेत रहेको जनाएको छ। नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले आवश्यक सबै पूर्वतयारी र सावधानीका कदम चालिरहेको स्पष्ट पारेको छ। साथै, सर्वसाधारणलाई आतंकित नहुन, तर सचेत, सजग र जिम्मेवार बन्न आग्रह गरिएको छ।

विश्व स्वास्थ्य संगठन (WHO) ले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम हाल न्यून रहेको मूल्यांकन गरेको भए पनि छिमेकी देशहरूमा देखिएका केही घटनालाई ध्यानमा राख्दै नेपालले सतर्कता अपनाएको मन्त्रालयले जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। निपाह भाइरस परीक्षणका लागि आवश्यक प्रयोगशाला तयारीसमेत पूरा गरिएको जानकारी मन्त्रालयले दिएको छ।

कसरी सर्छ निपाह भाइरस?

मन्त्रालयका अनुसार यो भाइरस मुख्यतया:

  • सङ्क्रमित चमेरोको र्‍याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा

  • सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट

  • चमेरोबाट सुँगुरमा र सुँगुरबाट मानिसमा पनि सर्न सक्छ

सावधानीका उपायहरू

मन्त्रालयले जनस्वास्थ्य सुरक्षाका लागि निम्न मापदण्ड पालना गर्न आग्रह गरेको छ:

  • फलफूल राम्ररी पखालेर मात्र खानु

  • तरकारी राम्रोसँग पकाएर खानु

  • पानी उमालेर वा सुरक्षित बनाइ मात्र पिउनु

  • जनावरका गोठ तथा फार्म सफा राख्नु

  • मासु काट्दा पञ्जा (ग्लोभ्स) र मास्क प्रयोग गर्नु

  • साबुनपानीले नियमित हात धुनु

  • भिडभाडमा जाँदा मास्क लगाउनु

लक्षण देखिए के गर्ने?

निम्न लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ:

  • ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ

  • चक्कर लाग्नु, खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु

  • वाकवाकी लाग्नु, बान्ता हुनु

  • गम्भीर अवस्थामा होस हराउनु वा अचेत हुनु

शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखी तत्काल रिपोर्टिङ गर्न पनि स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको छ।

हालसम्म नेपालमा निपाह भाइरस संक्रमण पुष्टि नभएको मन्त्रालयले स्पष्ट पारेको छ। जोखिम न्यूनीकरणका लागि स्वास्थ्य निकाय पूर्ण तयारी अवस्थामा रहेको जनाइएको छ।

मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरूसँग समन्वय गर्दै अवस्था निरन्तर अनुगमन गरिरहेको बताउँदै अफवाहमा नपर्न र मन्त्रालयबाट जारी आधिकारिक सूचनामात्र विश्वास गर्न सबैलाई अनुरोध गरेको छ।

शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा हेल्पलाइन नम्बर १११५ मा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर