मुम्बई । आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ। समूह ‘ए’ अन्तर्गत बुधबार कोलोम्बोमा भएको निर्णायक खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले पराजित गर्दै सुपर–८ मा स्थान सुरक्षित गर्यो। पाकिस्तान यस चरणमा पुग्ने अन्तिम टोली बन्यो।
समूह चरणबाट सुपर–८ मा पुगेका टोलीहरू
- समूह ‘ए’: भारत र पाकिस्तान
- समूह ‘बी’: श्रीलंका र जिम्बाब्वे
- समूह ‘सी’: इङ्ल्यान्ड र वेस्ट इन्डिज
- समूह ‘डी’: दक्षिण अफ्रिका र न्यूजिल्याण्ड
सुपर–८ का समूह विभाजन
समूह–१: भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बाब्वे
समूह–२: इङ्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका
पाकिस्तानको प्रभावशाली जित
कोलोम्बोमा भएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै १९९ रनको बलियो योगफल तयार गर्यो। ओपनर शाहिबजादा फरहानले ५८ बलमा शतक प्रहार गर्दै अविजित रहे। यो प्रतियोगिताको तेस्रो शतक हो।
२०० रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमा ९७ रनमै समेटियो। नामिबियाका लोरेन स्टिनक्याम्पले सर्वाधिक २३ रन बनाए। पाकिस्तानका उस्मान तारिकले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने नामिबियाका ज्याक ब्रासेलले २ विकेट हात पारे।
समूह चरणबाट बाहिरिएका टोली
यसपटक उपाधि दाबेदार मानिएका अस्ट्रेलिया, अफगानिस्तान र आयरल्यान्ड समूह चरणबाटै बाहिरिए।
नेपालले एक जित र तीन हारसहित प्रतियोगिता टुंग्याउँदै विश्वकप यात्रा समाप्त गरेको छ।
अब सुपर–८ चरणका खेलहरू झनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।




