वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै विश्वभरबाट अमेरिका भित्रिने वस्तुमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यसअघि उनले लगाएको आयात कर अदालतले बदर गरिदिएपछि उनले नयाँ कानुनी प्रावधान प्रयोग गर्दै शुल्कदर बढाउने निर्णय गरेका हुन्।
शुक्रबार १० प्रतिशत शुल्क लगाउने बताएका ट्रम्पले शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत शुल्कदर बढाएर १५ प्रतिशत पुर्याइएको जानकारी दिएका हुन्। उनले सन् १९७४ को व्यापार ऐनको धारा १२२ प्रयोग गरी उक्त निर्णय कार्यान्वयनमा ल्याउन खोजेका छन्। उक्त कानुनी व्यवस्थाअनुसार कंग्रेसको स्वीकृति बिना करिब पाँच महिनासम्म अस्थायी रूपमा यस्तो शुल्क लागू गर्न सकिने प्रावधान छ।
यसअघि संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पले अन्तर्राष्ट्रिय आकस्मिक आर्थिक अधिकार ऐन प्रयोग गरेर लगाएको कर अधिकार क्षेत्रभन्दा बाहिर रहेको ठहर गर्दै ६–३ को बहुमतले बदर गरिदिएको थियो। अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले त्यसलाई ‘हास्यास्पद, कमजोर र अमेरिका विरोधी’ भनी टिप्पणी गरेका छन्।
बेलायत र अस्ट्रेलिया जस्ता मुलुकसँग १० प्रतिशत शुल्कसम्बन्धी समझदारी भइसकेको अवस्थामा नयाँ निर्णयले अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा अन्योल सिर्जना गरेको विश्लेषण गरिएको छ।
फेब्रुअरी २४ देखि लागू हुने बताइएको नयाँ कर प्रणालीले अमेरिकी व्यापार घाटा घटाउने ट्रम्पको दाबी छ। तर उपलब्ध तथ्यांकअनुसार अमेरिकाको व्यापार घाटा हाल १.२ ट्रिलियन डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च स्तर मानिन्छ।
आफ्नै नियुक्त न्यायाधीशहरूले समेत विपक्षमा फैसला सुनाएपछि ट्रम्पले अदालतका सदस्यहरूको आलोचना गर्दै आफ्नो दोस्रो कार्यकालको एजेन्डा दृढतापूर्वक अघि बढाउने संकेत दिएका छन्।




