काठमाडौं, ११ फागुन । अफगानिस्तान–पाकिस्तान सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणपछि दुई देशबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ। पाकिस्तानले सीमापार रहेका “सात आतंकवादी अड्डा र शिविर” लक्षित गरी कारबाही गरेको दाबी गरेको छ भने अफगानिस्तानले सर्वसाधारण नागरिकमाथि आक्रमण भएको आरोप लगाएको छ।
अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा आक्रमण भएको जनाइएको छ। नान्घारमा एक घरमाथि भएको बम आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। पक्तिकामा भने एक मदरसालाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ, जहाँ पनि नागरिक हताहत भएको दाबी गरिएको छ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार गोप्य सूचनाका आधारमा सीमा क्षेत्रमा सक्रिय आतंकवादी समूहको उपस्थितिलाई लक्षित गरी कारबाही गरिएको हो। पाकिस्तानले विशेषगरी तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट खोरसान प्रोभिन्स (आईएसकेपी) सँग सम्बद्ध समूहलाई निशाना बनाइएको जनाएको छ। हालै पाकिस्तानभित्र भएका आत्मघाती आक्रमणमा ती समूहको संलग्नता देखिएको दाबी गर्दै त्यसको जवाफस्वरूप कारबाही गरिएको स्पष्ट गरिएको छ।
पाकिस्तानले अफगान तालिबान सरकारलाई यस्ता समूहविरुद्ध कडा कदम चाल्न पटक–पटक आग्रह गर्दा पनि प्रभावकारी कारबाही नभएको आरोप लगाएको छ।
यता अफगानिस्तानको सत्तारुढ तालिबान सरकारले भने आक्रमणमा महिला तथा बालबालिकासहित निर्दोष नागरिकको ज्यान गएको दाबी गर्दै कडा आपत्ति जनाएको छ। तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यसलाई अफगानिस्तानको सार्वभौमिकतामाथिको उल्लंघन भन्दै निन्दा गरेका छन्।
रक्षा मन्त्रालयका प्रवक्ता अन्यातुल्लाह ख्वारिज्मीले विज्ञप्ति जारी गर्दै यस घटनालाई गम्भीर आक्रमणको रूपमा व्याख्या गरेका छन् र ‘उचित समयमा योजनाबद्ध जवाफ’ दिइने चेतावनी दिएका छन्।
घटनापछि तालिबान सरकारले काबुलस्थित पाकिस्तानी राजदूतलाई बोलाएर औपचारिक विरोधपत्र बुझाएको जनाएको छ। अफगान विदेश मन्त्रालयले आफ्नो भूमिको रक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यस्ता आक्रमणको नकारात्मक परिणामको जिम्मेवारी पाकिस्तानले लिनुपर्ने चेतावनी दिएको छ।
यस घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने संकेत देखिएको छ।
(स्रोत: बीबीसी)




