लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानका विभिन्न स्थानमा भएका आक्रमणमा धेरै सर्वसाधारणको ज्यान गएको हो।
मन्त्रालयका अनुसार सिदोन र अल–कतरानी शहरमा भएका दुई छुट्टाछुट्टै हवाई आक्रमणमा सात जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
त्यस्तै, दक्षिणी शहर नाबाटियाहको नन्स क्षेत्रमा गरिएको अर्को आक्रमणमा चार बालबालिकासहित सात जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले यसअघि फेब्रुअरी २८ देखि सुरु भएको इजरायली आक्रमणमा हालसम्म कुल ८२६ जनाको मृत्यु भइसकेको जानकारी दिएको छ।
लगातार भइरहेको आक्रमणका कारण लेबनानमा ठूलो मानवीय संकट उत्पन्न भएको छ। यसबाट ८ लाख ३१ हजारभन्दा बढी मानिसहरू विस्थापित भई आफ्नो घर छोड्न बाध्य भएका छन्।




