भारतमा फेरि इन्धन महँगियो : १० दिनमै चौथोपटक पेट्रोल–डिजेलको मूल्य वृद्धि

नयाँ दिल्ली : मध्यपूर्वमा जारी तनावको असर भारतीय बजारमा स्पष्ट देखिन थालेको छ। भारतका आयल मार्केटिङ कम्पनीहरूले पछिल्लो १० दिनभित्र चौथोपटक पेट्रोल र डिजेलको मूल्य बढाएका छन्। लगातारको मूल्यवृद्धिसँगै राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०० भारतीय रुपैयाँ नाघेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ६१ पैसाले बढेर १०२ रुपैयाँ १२ पैसा पुगेको छ। त्यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ ७१ पैसाले वृद्धि भई ९५ रुपैयाँ २० पैसा कायम भएको छ।

दिल्लीसँगै भारतका प्रमुख महानगरहरूमा पनि इन्धनको मूल्य उच्च दरले बढेको छ। कोलकातामा पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ ५१ पैसा पुगेको छ भने मुम्बईमा १११ रुपैयाँ २१ पैसा कायम भएको छ। चेन्नईमा पनि २ रुपैयाँ ४६ पैसाको वृद्धिपछि पेट्रोलको मूल्य १०७ रुपैयाँ ७७ पैसा पुगेको छ।

चुनावपछि मूल्यवृद्धि तीव्र

पश्चिम बंगाल, असम, केरला, तमिलनाडु र पुडुचेरीमा सम्पन्न विधानसभा चुनावपछि आयल कम्पनीहरूले घाटा पूर्ति गर्न लगातार इन्धनको मूल्य बढाउन थालेका हुन्।

सबैभन्दा पहिले १५ मेमा पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको थियो। त्यसपछि १९ मेमा ९० पैसा, २३ मेमा पेट्रोलमा ८७ पैसा र डिजेलमा ९१ पैसा थप गरिएको थियो। सोमबार फेरि चौथोपटक मूल्य बढाइएको हो।

दुई सातामै ७ रुपैयाँभन्दा बढी वृद्धि

पछिल्लो दुई सातामा मात्रै पेट्रोलको मूल्य कुल ७ रुपैयाँ ४१ पैसा प्रतिलिटरले बढेको छ भने डिजेलमा ७ रुपैयाँ ५१ पैसाको वृद्धि भएको छ। लगातारको मूल्यवृद्धिले सर्वसाधारण उपभोक्ताको दैनिक खर्च थप बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर