कर्नाटकमा भीषण बस–ट्रक दुर्घटना: ११ जनाको ज्यान गयो, २४ घाइते

१० पुस, काठमाडौं — भारतको कर्नाटक राज्यअन्तर्गत चित्रदुर्ग जिल्लामा भएको भीषण सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जिल्ला अधिकारी (डीसी) का अनुसार दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे–४८ मा भएको हो। बेङ्गलुरुबाट गोकर्णातर्फ जाँदै गरेको स्लीपर कोच बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किँदा बसमा आगलागी भएको थियो।

दुर्घटनाग्रस्त बसमा ३२ जना यात्रु सवार थिए। हालसम्म ११ जनाको शव पहिचान भइसकेको र घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला अधिकारीले बीबीसी हिन्दीलाई जानकारी दिएका छन्।

घटनास्थलबाट प्राप्त तस्बिरहरूमा दुर्घटनाको भयावहता स्पष्ट देखिन्छ। बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ट्रकको अगाडिको भाग पनि नराम्ररी च्यातिएको अवस्थामा रहेको बीबीसीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर