काठमाडौँ — देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ भने पहाडी तथा हिमाली क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ। आज दिउँसो तराई क्षेत्रका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागिरहने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु लागिरहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
काठमाडौँ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।
तराई क्षेत्रमा हुस्सु र कुहिरो तथा कोशी, गण्डकी र कर्णाली प्रदेशमा सम्भावित हल्का वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।




