आजको मौसम पूर्वानुमान: उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको संकेत

काठमाडौँ । हाल देशभर न्यूनचापीय प्रणालीको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण आज देशका विभिन्न भागमा आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ। साथै, पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने अनुमान गरिएको छ।

आज राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा राति पनि हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।

मौसममा हुन सक्ने परिवर्तनलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर