२२ माघ, काठमाडौं – अमेरिका र इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ। इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल “एक्स” मार्फत स्थानीय समयअनुसार शुक्रबार बिहान करिब १० बजे ओमानको राजधानी मस्कटमा वार्ता हुने जानकारी दिएका हुन्। उनले वार्ताका लागि आवश्यक सबै तयारी मिलाइदिएको भन्दै ओमान सरकारप्रति आभार व्यक्त गरेका छन्।
अमेरिका र इरानबीच लामो समयदेखि विशेषगरी इरानको परमाणु कार्यक्रमलाई लिएर तनाव रहँदै आएको छ। सन् २०१५ मा भएको परमाणु सम्झौता (जेसीपीओए) अनुसार इरानले आफ्नो परमाणु गतिविधि सीमित गरेमा उसमाथि लगाइएका प्रतिबन्ध हटाउने सहमति भएको थियो। तर सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेपछि दुई देशबीचको सम्बन्ध थप जटिल बनेको थियो।
त्यसयता दुवै देशबीच प्रत्यक्ष संवाद लगभग ठप्प जस्तै छ भने प्रतिबन्ध, दबाब र आरोप–प्रत्यारोपको श्रृंखला जारी छ। पछिल्लो समय इरानमा सरकारविरोधी प्रदर्शनमाथि भएको दमन र परमाणु कार्यक्रमलाई लिएर अमेरिकी पक्षबाट कडा अभिव्यक्तिहरू आएका छन्। ट्रम्पले इरानविरुद्ध आक्रमणको चेतावनी दिएको समाचारहरू बाहिरिएका छन् भने इरान वरपर अमेरिकी लडाकु सेना तैनाथ गरिएको बताइएको छ।
यता, इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले पनि इरानमाथि अमेरिका आक्रमणमा उत्रिए क्षेत्रीय युद्ध सुरु हुन सक्ने चेतावनी दिएका छन्। अमेरिका–इरानबीचको बढ्दो तनावका कारण खाडी क्षेत्रका देशहरूमा त्रासको वातावरण बनेको थियो। अन्तर्राष्ट्रिय चासो बढ्दै जाँदा वार्ताका लागि कूटनीतिक पहल पुनः तीव्र बनेको देखिन्छ।
यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान वार्ताका लागि तयार भए अमेरिका पनि तयार रहेको बताएका छन्। उनका अनुसार सम्भावित वार्ताको एजेन्डामा इरानको परमाणु कार्यक्रमसँगै मिसाइल कार्यक्रमसमेत समावेश हुनुपर्ने धारणा रहेको छ।




