परमाणु परीक्षणको आरोप–प्रत्यारोप : अमेरिकाको दाबी चीनद्वारा अस्वीकार

२७ माघ, काठमाडौं।

अमेरिकाले चीनले गोप्य रूपमा परमाणु परीक्षण गरेको आरोप लगाएको छ। तर चीनले उक्त आरोपलाई पूर्ण रूपमा असत्य र आधारहीन भन्दै कडा शब्दमा खण्डन गरेको छ।

चीनको विदेश मन्त्रालयले अमेरिकाका आरोपहरू तथ्यहीन भएको बताउँदै यस्ता दाबीमार्फत अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पार्ने प्रयास भइरहेको आरोप लगाएको छ। चीनका अनुसार उसले परमाणु परीक्षणसम्बन्धी सबै अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको पालना गर्दै आएको छ र भविष्यमा पनि त्यसैअनुसार अघि बढ्नेछ।

शुक्रबार जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय नि:शस्त्रीकरण सम्मेलनमा अमेरिकाले चीनले सन् २०२० मा परमाणु परीक्षण गरेको र त्यसपछि पटक–पटक परीक्षण जारी राखेको दाबी गरेको थियो। अमेरिकाको भनाइमा चीन भविष्यमा थप परमाणु परीक्षणको तयारीमा समेत रहेको छ।

यी आरोप अमेरिका र रुसबीचको अन्तिम बाँकी परमाणु हतियार नियन्त्रण सन्धिको म्याद सकिएको एक दिनपछि सार्वजनिक भएका हुन्। यही सन्दर्भमा अमेरिकाले चीनलाई समेत समेटेर नयाँ बहुपक्षीय परमाणु हतियार नियन्त्रण सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

चीनले भने उल्टै अमेरिका नै नयाँ परमाणु परीक्षण पुनः सुरु गर्ने मनसायमा रहेको आरोप लगाएको छ। साथै उसले अमेरिकालाई आधारहीन आरोप लगाउनुभन्दा जिम्मेवार र तथ्यमा आधारित व्यवहार गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर