सरकारी सास्ती अन्त्यका लागि डिजिटल गभर्नेन्स अनिवार्य : सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहलाई प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउन ‘डिजिटल गभर्नेन्स’ अपरिहार्य रहेको बताएका छन्। उनले वर्तमान प्रशासनिक ढिलासुस्तीका कारण आम नागरिकले भोग्नुपरेको सास्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा सभापति थापाले सामान्य सरकारी सेवा लिनसमेत नागरिकले लामो लाइन बस्नुपर्ने, फाइल घुमाउनुपर्ने र अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए। उनले हालको कागजी प्रक्रियामा आधारित प्रणालीले सेवा प्रवाहलाई जटिल बनाएको उल्लेख गरे।

“कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै—यसले काममा ढिलाइ मात्र होइन, नागरिकमा निराशा पनि बढाएको छ,” उनले भने।

थापाले अबको प्रशासनिक संरचना चुस्त, पारदर्शी र नतिजामुखी हुनुपर्नेमा जोड दिँदै ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’को अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे। उनका अनुसार प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई सरल र सहज बनाउँदै नागरिकको हैरानी हटाउन सकिन्छ।

डिजिटल प्रणालीमार्फत सरकारी सेवा उपलब्ध गराउँदा पारदर्शिता बढ्ने, समय बचत हुने र प्रशासनिक कार्यक्षमता अभिवृद्धि हुने उनको विश्वास छ। उनले प्रविधिमैत्री प्रशासन नै वर्तमान समस्याको दीर्घकालीन समाधान भएको स्पष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित खबर