भारतको झारखण्ड राज्यमा बिरामी बोकेर दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स विमान दुर्घटनाग्रस्त हुँदा सवार सातै जनाको ज्यान गएको छ।
सोमबार बेलुकी राँचीबाट उडेको एयर एम्बुलेन्स चतरा जिल्लामा दुर्घटना भएको हो। चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी–९० (भिटी–एजेभी) विमान दुर्घटनामा परेको हो।
विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई स्वास्थ्यकर्मी सहयोगी तथा दुई क्याप्टेन गरी सात जना सवार थिए। भारतीय दैनिक हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा सबैको मृत्यु भएको छ।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)का अनुसार विमान साँझ ७ बजेर ११ मिनेटमा बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो। उडानपछि कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित गरिएको थियो र खराब मौसमका कारण मार्ग परिवर्तन (डिभिएसन)को अनुरोध गरिएको जनाइएको छ।
तर साँझ ७ बजेर ३४ मिनेटमा वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको सञ्चार र रडार सम्पर्क एकाएक विच्छेद भएको थियो। त्यसपछि विमान वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्कमा आएको थिएन। वाराणसी रडार रिप्ले परीक्षण गर्दा अन्तिम रडार सम्पर्क साँझ ७ बजेर २२ मिनेटमा देखिएको डीजीसीएले जनाएको छ।
मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार रहेका छन्, जो आगलागीको घटनामा ६३ प्रतिशतसम्म जलेर गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि दिल्ली लगिँदै थियो। सञ्जयसँग उनका सहयोगी विकास गुप्ता पनि सवार थिए। चिकित्सक सचिन कुमार मिश्र तथा स्वास्थ्यकर्मी अर्चना देवी र धुरु कुमार पनि विमानमा थिए। क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंहको पनि दुर्घटनामा ज्यान गएको जनाइएको छ।
राँची विमानस्थलका निर्देशक विनोद कुमारले खराब मौसम दुर्घटनाको सम्भावित कारण हुनसक्ने प्रारम्भिक अनुमान व्यक्त गरे पनि वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र स्पष्ट हुने बताएका छन्। घटनाको छानबिन प्रक्रिया अघि बढाइएको छ।
सन् २०१८ मा स्थापना भएको रेडबर्ड एयरवेजले सन् २०१९ अगस्टदेखि चार्टर तथा एयर एम्बुलेन्सजस्ता गैर–अनुसूचित उडान सञ्चालनका लागि अनुमति पाएको थियो। कम्पनीले २४सै घण्टा मेडिकल इभ्याकुएसन सेवा उपलब्ध गराउँदै आएको दाबी गर्दै आएको छ।
हाल चार्टर विमान सञ्चालन र नियामक संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला यो दुर्घटना भएको हो। यसअघि जनवरी २८ मा महाराष्ट्रको बारामतीमा लियरजेट–४५ दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो, जसपछि स्वतन्त्र छानबिनको माग गरिएको थियो। डीजीसीएले गैर–अनुसूचित उडान सञ्चालनकर्तामाथि विशेष अडिट गरिरहेको जनाएको भए पनि ती प्रतिवेदनहरू सार्वजनिक गरिएको छैन।




