प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा घोषणा

सरकारले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले जानकारी दिएका छन्।

यसअघि निर्वाचन आयोग ले निर्वाचनको व्यवस्थापन र मतदातालाई सहज वातावरण उपलब्ध गराउन तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। आयोगकै सिफारिसअनुसार सरकारले उक्त निर्णय गरेको हो।

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान हुँदैछ। निर्वाचनको तयारी, मतदान र मतगणनालाई मध्यनजर गर्दै लगातार तीन दिन बिदा दिने निर्णय गरिएको हो।

यसपालि फागुन १८ गते पहाडी जिल्लामा र १९ गते तराई क्षेत्रमा होली पर्व परेको छ। त्यसपछि २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस मनाइने कार्यक्रम छ। यसरी हेर्दा निर्वाचन आसपासको अवधिमा झन्डै एक सातासम्म बिदाको वातावरण बन्ने भएको छ।

सरकारको निर्णयले मतदातालाई मतदानमा सहभागी हुन सहजता पुग्ने अपेक्षा गरिएको छ।

(तस्बिर स्रोत: नेपाल टेलिभिजन फेसबुक पेज)

प्रतिक्रिया
सम्बन्धित खबर