लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी, देशभर तापक्रम वृद्धि हुने

काठमाडौं, ११ वैशाख — जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार यी क्षेत्रहरूमा अत्यधिक गर्मी बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज मधेश प्रदेशसँगै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोचहरूमा तापक्रम बढ्ने अनुमान गरिएको छ। विशेषगरी लुम्बिनी प्रदेशका भैरहवा, कपिलवस्तु, नेपालगञ्ज र दाङ लगायतका स्थानहरूमा दिउँसो अत्यधिक गर्मी महसुस हुने जनाइएको छ।

यस्तै, देशका हिमाली र पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही हिमाली र पहाडी क्षेत्र, साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा प्रायः मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

नागरिकलाई अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन विभागले सुझाव दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर