पाँचदिने भारत भ्रमणमा आज प्रस्थान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत जान लागेका हुन्।

रास्वपाका अनुसार लामिछाने आज दिउँसो १ बजे भारततर्फ प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा उनकी पत्नी निकिता लामिछाने, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा तथा प्रदीप आचार्य सहभागी छन्।

पार्टीका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिअनुसार जेठ १८ देखि २२ गतेसम्म हुने भ्रमणका क्रममा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले भाजपाका शीर्ष नेताहरूसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेटवार्ता गर्नेछन्।

यस अवधिमा उनी व्यक्तिगत रूपमा अयोध्या भ्रमणमा समेत जाने कार्यक्रम रहेको जनाइएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले भ्रमणका विभिन्न कार्यक्रमहरू सफल बनाउन आवश्यक समन्वय गरिरहेको रास्वपाले जनाएको छ।

रास्वपाले औपचारिक जानकारी सार्वजनिक गर्नुअघि नै भाजपाले पनि लामिछानेको भारत भ्रमणबारे विज्ञप्ति जारी गरेको थियो। भाजपाका अनुसार प्रतिनिधिमण्डलले अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्नेछ।

यद्यपि दुवै पक्षका विज्ञप्तिमा उल्लेख नगरिए पनि भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर लगायत उच्च भारतीय नेतृत्वसँग भेटघाटको सम्भावना रहेको स्रोतहरूले बताएका छन्। यद्यपि ती भेटवार्ताको समय भने अझै तय भइसकेको छैन।

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमणसमेत तय नभएको अवस्थामा रास्वपा नेतृत्वको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

यसअघि प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले लामिछानेलाई दूरभाषमार्फत बधाई दिएका थिए। सोही क्रममा भारत भ्रमणबारे प्रारम्भिक छलफल भएको बताइन्छ।

भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेद्वारा जारी विज्ञप्तिअनुसार यस भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच दलगत सम्बन्ध विस्तार गर्नुका साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक अभियानका अनुभव आदानप्रदान गर्नु रहेको छ।

दुवै दलले यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सकारात्मक दिशा दिने तथा आपसी राजनीतिक सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर