साउनको अन्तिम सोमबार : सोमप्रदोषको संयोग, शिवालयमा भक्तजनको घुइँचो

२५ साउन, काठमाडौं । साउन महिनाको अन्तिम सोमबार तथा सोमप्रदोष व्रतको संयोग परेसँगै पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

साउनको अन्तिम सोमबार भगवान शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार अन्य सोमबार व्रत बस्न नपाएकाले पनि आज व्रत बसेर शिवको पूजा गर्दा मनोकांक्षा पूरा हुन्छ।

यस वर्ष सोमबारकै दिन त्रयोदशी तिथि परेकाले सोमप्रदोष व्रतको विशेष संयोग परेको हो। प्रदोषकाल अर्थात् सूर्यास्त आसपासको समयमा शिवको पूजा, दीप प्रज्वलन र आराधना गर्दा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ।

पशुपतिनाथ, डोलेश्वर, कुम्भेश्वर, हलेसी, पिण्डेश्वर, गलेश्वरलगायत देशभरका प्रमुख शिवालयमा पूजाआजा र बोलबम तीर्थालुको भीड लागेको छ। सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने श्रद्धालुको पनि विशेष घुइँचो छ।

प्रतिक्रिया
सम्बन्धित खबर