२२ कात्तिक, काठमाडौं ।
टर्कियेले गाजा क्षेत्रमा गरिएको भनिएको ‘जनसंहार’का आरोपमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सहित उनका उच्च पदस्थ अधिकारीहरू विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ।
समाचार एजेन्सी एएफपीका अनुसार, इस्तान्बुल अभियोजक कार्यालयले कुल ३७ जनामाथि वारेन्ट जारी गरेको जनाएको छ, जसमा इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम समेत समावेश छ।
टर्कियेले उनीहरूलाई ‘जनसंहार र मानवताविरुद्ध अपराध’ गरेको आरोप लगाएको छ। टर्कियेका अधिकारीहरूले गाजामा इजरायलले ‘व्यवस्थित र योजनाबद्ध रूपमा जनसंहार गरेको’ दाबी गरेका छन्।
यसबीच, इजरायलले भने टर्कियाको कदमको कडा विरोध गरेको छ। इजरायलका विदेशमन्त्री गिदोन सारले टर्कियाका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनलाई ‘तानाशाह’ अभिव्यक्ति दिँदै यो कदमलाई ‘राजनीतिक प्रचारबाजी’ (पीआर शायरी) को संज्ञा दिएका छन्।




