धन्दाको नाममा धोका: मलेसियाको एएचएम सेक्युरिटी कन्सल्टेन्सीले नेपाली कामदारलाई अवैध प्रक्रियाबाट फसाउँदै

काठमाडौँ — मलेसियास्थित एएचएम सेक्युरिटी एण्ड कन्सल्टेन्सी कम्पनीले नेपालका दर्जनौं मेनपावर कम्पनीहरूसँग मिलेमतो गर्दै वैदेशिक रोजगार सम्बन्धी कानूनी प्रक्रियाको गम्भीर उल्लंघन गरेको तथ्य सार्वजनिक भएको छ।

यस कम्पनीले नेपाली कामदारको मागपत्र नेपाली दूतावासबाट प्रमाणिकरण नगरीकनै नेपालमा रहेका मेनपावर कम्पनीमार्फत अवैध रूपमा करिब १,००० भन्दा बढी कामदारको डकुमेन्ट संकलन गरी, ५०० भन्दा बढीको कलिङ भिसासमेत जारी गराइसकेको खुलासा भएको छ।

ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले नेपालमा रहेको उत्सव एच आर प्रा. लि., रेडियन्ट ओभरसीज प्रा. लि., एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेशनल प्रा. लि., विज्ञान एच आर म्यानेजमेन्ट प्रा. लि., ट्रस्ट इन्टरनेशनल ओभरसीज प्रा. लि., अनमोल ओभरसीज प्रा. लि., अमन ओभरसीज प्रा. लि., स्विफ्ट गोर्खा इन्टरनेशनल प्रा. लि., ह्याप्पी नेपाल इम्प्लोयमेन्ट प्रा. लि., सनराइज एच.आर. सोलुसन प्रा.लि. र मनि होम ओभरसिज प्रा. लि. नामक मेनपावर कम्पनीको नाममा विगत केही महिना अघिनै मागपत्र प्रमाणिकरणका लागि आवेदन दिइसकेको छ ।

यद्यपि नेपाली दूतावास मलेसियाले एएचएम सेक्युरिटी कन्सल्टेन्सीको मागपत्रमा प्रक्रियागत त्रुटि देखाउँदै हालसम्म प्रमाणिकरण गरेको छैन। तैपनि, नियम विपरीत प्रक्रिया अघि बढाइएको छ।

दूतावासका अनुसार कम्पनीले पाँच महिनाअघि नै प्रमाणिकरणको लागि निवेदन दिए पनि आवश्यक मापदण्ड नपुगेका कारण मागपत्र रोकिएको हो। कम्पनी र त्यसका निर्देशकविरुद्ध मलेसियाली प्रहरीसमक्ष उजुरीसमेत दर्ता भइसकेको छ।

स्रोतका भनाइ अनुसार, कम्पनीले विभिन्न व्यक्तिहरूको सहिछापमा गैरकानुनी लेनदेन गरिरहेको छ भने मलेसियामा रहेका बिचौलियाहरू पनि यस कार्यमा संलग्न छन्।

वैदेशिक रोजगार ऐनअनुसार, मागपत्र दूतावासबाट प्रमाणिकरण भई वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिएपछि मात्र कामदार पठाउन सकिन्छ। तर, एएचएमले सबै प्रक्रिया उपेक्षा गर्दै अवैध रूपमा कार्य अघि बढाएको पाइएको छ।

यसरी गरिएका गतिविधिहरूले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई ठगी, शोषण र मानव तस्करीको जोखिममा पुर्‍याउने  निश्चित देखिन्छ। सरोकारवाला निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकता देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खबर