२३ साउन, काठमाडौं । खाडी मुलुकमा घरेलु कामदारका रूपमा पठाउने उद्देश्यले भारत पुर्याइएका ६३ नेपाली महिलामध्ये ४० जनालाई उद्दार गरी शुक्रबार काठमाडौं फिर्ता ल्याइएको छ।
रुपन्देहीको सुनौली नाकामार्ग हुँदै दिल्ली पुर्याइएका उनीहरूलाई बुधबार राति नेपाली दूतावास र भारतीय प्रहरीको संयुक्त प्रयासमा चार होटलबाट उद्दार गरिएको हो। उद्दार गरिएकामध्ये एक महिलाको युरोपको भिसा प्राप्त भएको र बाँकी २२ जना रोमानिया लगायत युरोपका विभिन्न मुलुक जाने तयारीमा रहेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।
मेनपावर कम्पनीका प्रतिनिधिले आफूहरू कानुनी प्रक्रिया मार्फत पठाउन लागेको दाबी गर्दै दूतावाससँग औपचारिक पत्राचार गरेका थिए। सोही आधारमा कम्पनीका प्रतिनिधि दिल्ली पुगेर २२ जनालाई आफ्नो जिम्मामा लिएका ‘किङ इन्डिया’का निर्देशक नवीन जोशीले बताए। बाँकी ४० जनालाई भने शुक्रबार काठमाडौं ल्याइएको हो।
फिर्ता गरिएका महिलाहरू कुवेत, साउदी अरब, ओमान र दुबई जाने तयारीमा थिए। तर, यी मुलुकमा नेपालबाट घरेलु कामदार पठाउन कानुनी रोक रहेका कारण उनीहरूलाई भारत हुँदै तेस्रो मुलुक पठाउन खोजिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरका अनुसार, उद्धार गरिएकामध्ये कतिपय महिलाहरूले आफूखुसी विदेश जाने तयारी गरेको र जाहेरी दिन इच्छुक नभएको बताएका छन्। उनीहरूलाई हाल काठमाडौंको सेल्टर हाउसमा राखी परामर्श (काउन्सिलिङ) प्रक्रिया अघि बढाइएको छ। जाहेरी प्राप्त भएमा मात्र कानुनी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
यस घटनाले वैदेशिक रोजगारको नाममा महिलाहरूलाई खाडी र युरोप पठाउने क्रममा भइरहेको अनियमितता र जोखिमपूर्ण मार्ग प्रयोगको समस्या पुनः उजागर गरेको छ।




