दार्चुलामा बैंकको करोडौं रकम अनलाइन जुवामा, शाखा प्रबन्धकसहित चार कर्मचारी पक्राउ

दार्चुला — महालक्ष्मी विकास बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाबाट करोडौं रुपैयाँ अपचलन गरी अनलाइन जुवामा प्रयोग गरेको अभियोगमा चार जना बैंक कर्मचारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाहीसहित कर्मचारीहरू निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्। बैंकको उजुरीको आधारमा साउन २४ गते उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका डीएसपी प्रकाश दाहालका अनुसार, उनीहरूलाई अदालतको आदेशमा सात दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा चारै जनाको मिलेमतोमा शाखाबाट दुई करोड ८४ लाख ७६ हजार सात सय रुपैयाँ अपचलन भएको पाइएको प्रहरीले जनाएको छ।

बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयले प्रारम्भमै उनीहरूलाई निलम्बन गरी जाहेरी दिएपछि प्रहरीको टोलीले पक्राउ गरेको हो। उक्त रकम अपचलन भएको पत्ता लागेपछि बैंकको केन्द्रीय टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो।

बैंकका अनुसार, उनीहरूले बैंकको मूल खातामा मौज्दात रकम देखाइ भल्टको रकम गैरकानुनी रूपमा हिनामिना गरेका थिए। हाल उक्त शाखाको जिम्मेवारी हेमराज जोशीलाई दिइएको बैंकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर