काठमाडौँ — बेलायतको प्रसिद्ध वेम्बली एरिनामा नेपाली ब्यान्ड नेपथ्य का गीतहरू फेरि एकपटक गुञ्जिएका छन् । शनिबार बेलुकी १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिंदै नेपाली संगीतको इतिहासमा नयाँ पृष्ठ लेखेको हो । नेपथ्यले यसअघि १२ वर्षअघि पनि यही मञ्चमा प्रस्तुति दिएको थियो ।
कार्यक्रम ‘कोशीको पानी’ बाट सुरु गर्दै ब्यान्डले कुल १८ गीत प्रस्तुत गर्यो । यो गीत गायक अमृत गुरुङले कास्कीको याङ्जाकोटमा बस्दा, नेपथ्य स्थापना हुनुभन्दा पहिले रचेका थिए । गीत लेखिँदा साक्षी रहेका उनका बाल्यकालका साथी पुस्कल गुरुङ लन्डनको दर्शकदीर्घामा उपस्थित रहँदा क्षणलाई अझै भावुक बनायो ।
गायक अमृतले गीत मात्र गाएनन्, गीत संकलनका अनुभव सुनाउँदै नेपाली भाषा, संस्कृति जगेर्ना र स्वदेशसँगको सम्बन्ध मजबुत बनाउन प्रेरणादायी सन्देश पनि दिए । उनले विदेशमा नेपाली गीतप्रतिको माया देख्दा ३५ वर्षको संगीत यात्रा सफल र सार्थक भएको अनुभूति भएको बताए ।
दर्शकको लगातारको ‘वान्स मोर’ अनुरोधलाई यसपटक ब्यान्डले अस्वीकार गर्न सकेन । परम्परागत अन्तिम गीत ‘रातो र चन्द्र सूर्य’ पछि थप रूपमा ‘हिमाल चुचुरे’ पनि प्रस्तुत गरियो ।
दर्शकमध्ये केही लन्डनभन्दा टाढाबाट आएका थिए, जसमा नेदरल्यान्ड्सबाट आएका मेडिकल फिजिसिस्ट विल्को पनि थिए । १२ वर्षअघि वेम्बलीमा अमृतको स्वर सम्बन्धी चिन्तामा साथ दिएका विल्कोले यसपटक उनलाई पुरानै ऊर्जा र उमङ्गका साथ मञ्चमा देख्दा असीम खुसी व्यक्त गरे ।
कन्सर्टमा अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए । नेपालयका व्यवस्थापक किरणकृष्ण श्रेष्ठका अनुसार यो प्रस्तुति नेपाली संगीतको इतिहासमा बन्द हलभित्र यति धेरै दर्शक जुटाउने दुर्लभ सफलता हो ।
नेपथ्यको वेम्बली यात्रा बीएसके इन्टरटेनमेन्ट र पर्चा प्रोडक्सन ले आयोजना गरेका थिए । आयोजक दीपेन्द्र लामाका अनुसार १० हजार दर्शकका लागि यो साँझ जीवनकै अविस्मरणीय बनेको छ ।
वेम्बलीपछि नेपथ्य युरोप भ्रमणमा निस्किँदै छ । आगामी २३ अगस्टमा कोपेनहेगन, २७ मा माल्टा, ३१ मा लिस्बन हुँदै ३ सेप्टेम्बरमा बेल्जियमको एन्थ्रोपेनमा अन्तिम प्रस्तुति हुनेछ । साथै, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, इटाली, अस्ट्रिया लगायतका देशमा पनि नेपथ्यको कार्यक्रम हुने तय भएको छ ।




