कोशीमा बहाव बढ्दो, खतराको संकेतस्वरूप रातो झण्डा र बत्ती बालियो

राजविराज — लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको छ। मंगलबार रातिदेखि पहाडी क्षेत्रमा परेको वर्षाले बुधबार बिहानदेखि कोशी ब्यारेजमा पानीको स्तर निरन्तर उकासिएको हो।

बुधबार बिहान ६ बजे गरिएको मापनअनुसार नदीमा १ लाख ६६ हजार १ सय ५० क्युसेक प्रतिसेकेन्ड पानी बगेको थियो। सो बहाव दिउँसो १२ बजे १ लाख ९१ हजार ९ सय १० क्युसेक प्रतिसेकेन्ड पुगेको ब्यारेज प्रशासनले जनाएको छ। यसअघि बिहान १० बजेको मापनमा १ लाख ७७ हजार ८ सय ३५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव देखिएको थियो।

खतराको स्तर नाघेपछि कोशी ब्यारेजका ५६ मध्ये २३ वटा ढोका खोलिएको छ। साथै, पानीको बहाव १ लाख ५० हजार क्युसेक प्रतिसेकेन्डभन्दा बढी भएपछि खतराको संकेतस्वरूप ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको प्रशासनले जनाएको छ।

स्थानीय प्रशासनले नदी आसपासका वासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर