काठमाडौँ — अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, पाकिस्तानसँग सीमा नजिक राति ११:४७ बजे गएको ६.० म्याग्निच्यूडको भूकम्पले नांगरहार र कुनार प्रान्तमा ठूलो जनधनको क्षति पुर्याएको हो। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
यो भूकम्पको झड्का पाकिस्तानको राजधानी इस्लामावाददेखि एवटावादसम्म अनुभव गरिएको थियो। प्रारम्भिक कम्पनपछि ४.७, ४.३ र ५.० म्याग्निच्यूडका पराकम्पहरू समेत महशुस गरिएको बताइएको छ।
अफगानिस्तान विगत केही वर्षयता भूकम्पीय जोखिममा बारम्बार परेको छ। गत वर्ष अक्टोबर ७ मा पश्चिमी क्षेत्रमा आएको विनाशकारी भूकम्पमा करिब ४ हजारको ज्यान गएको बताइए पनि संयुक्त राष्ट्रसंघले आधिकारिक रूपमा १५ सय मृतकको पुष्टि गरेको थियो।
विशेषज्ञहरूका अनुसार, पूर्वी अफगानिस्तानको भौगोलिक संरचना र भूकम्पीय कमजोरीका कारण यहाँ प्रायः शक्तिशाली भूकम्प आउने गरेको छ, जसले स्थानीय बासिन्दालाई निरन्तर जोखिममा राखिरहेको छ।




