२२ भदौ, काठमाडौं । निजामती दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै नागरिकलाई सेवा प्रदान गर्ने क्रममा झन्झट र दु:ख दिने कार्य सह्य नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले बदलिंदो विश्व परिवेश, प्रविधि र जनअपेक्षाअनुसार निजामती सेवाका कर्मचारीले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए । उनले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र जिम्मेवारी पन्छाउने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिए ।
‘अब नागरिकले सेवा खोज्ने होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘टेबल र कुर्सीमा सीमित सेवामात्र होइन, प्रविधिबाट छिटो र प्रभावकारी सेवा विस्तार गर्नुपर्छ ।’
उनले पछिल्ला दिनमा केही कर्मचारी आचरण, जवाफदेहिता र आदर्शबाट विचलित देखिएकाले निजामती सेवाप्रति जनविश्वास घटेको गुनासो बढेको बताए । यस्तो अवस्थामा पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भावमार्फत मात्र नागरिकको विश्वास जित्न सकिने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले संसदमा पारित हुन लागेको निजामती विधेयकले कर्मचारीको व्यावसायिक उन्नयनसँगै संघीयताको कार्यान्वयनमा नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । उनले सबै निजामती कर्मचारीलाई उच्च मनोबलका साथ पारदर्शी, जिम्मेवार र परिणाममुखी ढंगले नागरिक सेवा प्रवाहमा जुट्न आह्वान गरे ।
डिजिटल युगमा ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र सहज अनलाइन सेवामार्फत छिटो तथा गुणस्तरीय सेवा उपलब्ध गराउनु निजामती सेवाको प्रमुख दायित्व भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । साथै, नागरिक एपमार्फत सरकारी सेवालाई एकीकृत गरेर घरदैलोमै पुर्याउने सरकारी नीति कार्यान्वयनमा सक्रिय हुनुपर्ने उनले बताए ।
समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न निजामती कर्मचारीको सिर्जनशीलता र प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले व्यावसायिक, पारदर्शी, नवप्रवर्तनशील र नागरिकमैत्री प्रशासन निर्माणमा सबैलाई जिम्मेवार ढंगले लाग्न आग्रह गरे ।
दिवसको अवसरमा उनले सम्पूर्ण निजामती परिवारलाई सफलताको शुभकामना दिँदै उज्ज्वल भविष्यका लागि शुभेच्छा प्रकट गरेका छन् ।




