आज कोशी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले आज (आइतबार) कोशी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा र पश्चिमतर्फ सरदरभन्दा दक्षिणतिर अवस्थित छ भने सिक्किम आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा परेको विभागले जनाएको छ।

आज दिउँसो देशका पहाडी भागमा सामान्यतया बदली रहने र बाँकी भागमा आंशिक बदली हुने पूर्वानुमान छ। यस अवधिमा देशका पहाडी भागका धेरै स्थानमा र बाँकी भागका केही स्थानमा मध्यम वर्षा तथा कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा सामान्य बदली रहने, बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी पहाड तथा तराई भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागको भनाइ छ।

विभागले भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो), ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्ने, यातायातमा असर पर्नेजस्ता जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर