काठमाडौंमा जेनजीको प्रदर्शन : कडाई गरिएको सुरक्षा, सशस्त्र प्रहरीदेखि गुप्तचरसम्म तैनाथ

काठमाडौं — समाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, देशभरको भ्रष्टाचार, बेथिति र नेताहरूकै विलासी जीवनशैलीविरुद्ध जेनजीले सोमबारदेखि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन्।

प्रदर्शनलाई लक्षित गर्दै बिहानैदेखि काठमाडौंका प्रमुख चोक–चोकमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ। लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजारदेखि नयाँबानेश्वरसम्म बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार आवश्यकता अनुसार पर्याप्त संख्यामा सुरक्षाकर्मी खटाइएको छ। उनले भने, “प्रदर्शन शान्तिपूर्ण बनाउन प्रहरी सक्रिय भएर लागेको छ।”

नयाँबानेश्वरलगायत निषेधित क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ छन् भने सम्भावित घुसपैठ, तोडफोड वा अराजकतालाई रोक्न सादा पोशाकका प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सूचकहरू पनि परिचालन गरिएको छ।

माइतीघरमा करिब ५ सय जेनजीको उपस्थिति देखिएको प्रहरीले जनाएको छ। बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनमा सहभागीको संख्या बढ्दै गएको छ।

यसअघि प्रदर्शनलाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार सुरक्षा समितिको बैठक बोलाएर रणनीति तय गरेको थियो।

जेनजीले भने आफूहरूको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर