शीतल निवासको प्रधानमन्त्री नियुक्ति सम्बन्धी छलफल केही घण्टाका लागि स्थगित

२७ भदौ, काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे शीतल निवासमा आज बिहान ९ बजेका लागि तय गरिएको छलफल कार्यक्रम केही घण्टाका लागि स्थगित गरिएको छ ।

स्रोतका अनुसार सहभागी पक्षहरूले आ–आफ्नो आन्तरिक छलफलका लागि थप समय आवश्यक भएको हुँदा छलफल सारिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न पक्षसँग निरन्तर परामर्श गरेका थिए ।

दलहरूले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने धारणा राखेका छन् भने आन्दोलनरत जेनजी पक्ष संसद विघटनको पक्षमा अडिग छ । संविधानअनुसार संसद सदस्य नभएको व्यक्तिले प्रधानमन्त्री बन्न नसक्ने प्रावधान रहेको छ ।

यसैबीच, आन्दोलनरत पक्ष र दलहरूबीच पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमति बनेको छ । तर, संसदमार्फत अनुमोदन गर्ने प्रक्रियामा भने अझै पूर्ण सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खबर