काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ।
संसद सचिवालयका अनुसार आजको बैठकमा दुई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिइनेछ। परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयका बारेमा सांसदहरुले सोधेका प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
यस्तै आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले एउटा महत्वपूर्ण प्रस्ताव पेश गर्दैछिन्। उनले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता लिने सम्बन्धी सम्मेलनलाई नेपाल सरकारको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव सदनमा लैजाने छिन्।
आज संसदीय समितिहरुका बैठक पनि बस्दैछन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आजै बस्ने तय भएको छ।




