काठमाडौं — देश सामान्यतर्फ फर्किएसँगै भोलिदेखि क्षतिग्रस्तबाहेकका सबै चलचित्र हल सञ्चालनमा आउने भएका छन्। चलचित्र संघले हल पुनः सञ्चालन गर्ने निर्णय गर्दै यस दसैंमा नयाँ फिल्महरूको प्रदर्शन सुरु गर्ने तयारी गरेको हो।
निर्देशक सन्तोष सेनले निर्माण गरेको बहुप्रतिक्षित फिल्म ‘बलिदान’ फूलपातीमै प्रदर्शनमा आउने भएको छ। आन्दोलनका कारण फिल्मको काम रोकिए पनि अहिले पोस्ट–प्रोडक्सन अन्तिम चरणमा पुगेको छ। सेनले भने, “देश सामान्यतर्फ फर्किसकेको छ, अब फिल्म क्षेत्रलाई पनि अघि बढाउनुपर्छ भन्ने जिम्मेवारीसहित हामी बलिदानलाई निर्धारित समयमा ल्याउँदैछौं।”
त्यसैगरी निर्माता रोहित अधिकारीको ‘माइतीघर’ पनि फूलपातीकै दिन प्रदर्शन हुने तयारीमा छ। अधिकारीका अनुसार प्रचारप्रसारमा अवरोध आए पनि दर्शकलाई दसैंमा मनोरञ्जन दिने उद्देश्यले फिल्मलाई तोकिएको समयमा ल्याइनेछ।
यसैगरी हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’ पनि दीपेन्द्र के. खनालको निर्देशनमा यही फूलपातीमा रिलिज हुने भएको छ। निर्माता सरोज ओलीले भने, “देश सामान्य दैनिकीमा फर्किरहेको छ, दर्शक हलमा फर्कने विश्वास छ।”
नयाँ फिल्म मात्र होइन, जेन–जी आन्दोलनका कारण रोकिएका फिल्महरू पनि पुनः हलमा प्रदर्शन हुने भएका छन्। ‘गुन्योचोलो: द ड्रेस’, ‘माग्ने राजा’, ‘मोहर’, ‘कोशेढुङ्गा’ र ‘रिमै’ जस्ता फिल्म फेरि दर्शक सामु आउने तयारीमा छन्।
देश शोकबाट उठ्दै सामान्यतर्फ फर्किँदै गर्दा दसैंलाई लक्षित गर्दै चलचित्र क्षेत्रले पनि नयाँ उत्साहसहित फिल्म प्रदर्शनमा ल्याउने निर्णय गरेको छ। हल सञ्चालनसँगै दर्शकलाई फेरि चलचित्रको स्वाद लिन मौका मिल्ने भएको छ।




