काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले देशभर सामान्य बदली रही विभिन्न स्थानमा वर्षा भइरहेको छ।
कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ। आज बिहानको विवरण अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ भने बबई नदीको बहाव सतर्कता तह आसपास बढ्दो अवस्थामा छ।
उच्च सम्भावना हुने जिल्ला
आज रुपन्देही, नवलपरासी पूर्व–पश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम उच्च रहने पूर्वानुमान गरिएको छ।
मध्यम सम्भावना हुने जिल्ला
त्यसैगरी, इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी, दार्चुला र आसपासका जिल्लामा स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ।
बाढी पूर्वानुमान महाशाखाले यी जिल्लामा सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।




