असोज १ गतेदेखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक । मनसुन अवधिमा बाढीपहिरोको उच्च जोखिमका कारण राति सवारी सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन सकिनै लागेका बेला तथा आगामी दशैँ–तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै यात्रुको सहजतालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेको हो। समितिका अनुसार स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार सजगता अपनाई राजमार्ग सञ्चालन गरिनेछ।

गत असार ७ गतेदेखि मनसुन सक्रिय भएपछि बिपी राजमार्गमा राति १२ घण्टासम्म सवारी आवतजावतमा रोक लगाइएको थियो। यस अवधिमा बारम्बार बाढीपहिरोका कारण यात्रु तथा सवारी साधनलाई जोखिम हुने अवस्था देखिएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन रातिको आवतजावतमा रोक लगाइएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न जोखिमयुक्त खण्डमा पहिरोको सम्भावना देखिएकाले रातिको समयमा यातायात बन्द गरिएको थियो। अब भने मनसुन अन्त्यतर्फ जाँदै गरेका कारण असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेको हो।

गत वर्ष असोजमा आएको बाढीपहिरोले राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि अस्थायी रूपमा मात्र यातायात सञ्चालन गरिएको थियो। हाल क्षतिग्रस्त स्थानको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।

देशको पूर्व–पश्चिम जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा रहेको बिपी राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने भएकाले यस निर्णयले यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर