काठमाडौँ । आज राजधानीसहित देशभर विश्वकर्मा पूजा धूमधामका साथ मनाइएको छ। सवारीसाधन, कलकारखाना र विभिन्न मेसिनरी उपकरणहरूको विधिपूर्वक पूजा आराधना गरी भगवान् विश्वकर्माको सम्मान गरिएको हो।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यस पर्वमा राजधानीको भद्रकाली मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको थियो। भक्तजनहरूले भगवान् विश्वकर्माको दर्शन गर्दै प्रार्थना र पूजा गरेका छन्।
कलकारखानाहरूमा समेत भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विशेष सजावट गरिएको छ। मजदुरदेखि मालिकसम्म सबै सहभागी भएर पूजाआजा गर्ने परम्परा रहिआएको छ।
पूजा सम्पन्न भएको मूर्ति वा तस्बिरलाई भोलिपल्ट नदीमा विसर्जन गर्ने चलन छ। यसरी विश्वकर्मा पूजाले श्रम, सीप र उत्पादनशीलताको महत्वलाई उजागर गर्ने विश्वास गरिन्छ।




