नारायणगढ–मुग्लिन सडकमा पहिरो, रातिदेखि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड मंगलबार राति पहिरो खसेपछि अवरुद्ध भएको छ। राति ९ बजे तुइन खोलामा खसेको पहिरोका कारण सडक बन्द भएको भरतपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

कार्यालयका साइट इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाएपछि केहीबेर एकतर्फी आवागमन खुलेको थियो। तर, लगातार पहिरो खस्दै गएपछि सडक पुनः अवरुद्ध भएको हो।

रातिको समयमा माथिबाट खस्ने ढुंगा र माटोको जोखिम रहेकाले तत्काल काम रोकिएको थियो। बिहानैदेखि डोजर परिचालन गरेर सडक सफा गर्ने प्रयास भइरहेको इन्जिनियर घिमिरेले जानकारी दिए।

‘माथि ठाडो भिर र तल सिधै नदी भएकाले राति काम गर्न गाह्रो हुन्छ,’ उनले भने। मुग्लिन नजिकको तुइन खोलामा यसअघि पनि बारम्बार पहिरो खस्दै आएको छ, जसले यातायातमा ठूलो समस्या सृजना गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर