एसियाली खेलकुद–२०२६ : नेपालका ३२ खेलका ४३४ खेलाडी दर्ता

काठमाडौँ । आगामी सन् २०२६ सेप्टेम्बरमा जापानको आइची र नागोयामा हुने २०औं गृष्मकालीन एसियाली खेलकुदमा नेपालले ३२ खेलका ४३४ खेलाडी दर्ता गरेको छ।

नेपाल ओलम्पिक कमिटीका अनुसार दर्ता गरिएका खेलाडीमध्ये २३९ पुरुष र १९५ महिला रहेका छन्। यसअघि ३० खेलका लागि मात्र दर्ता प्रक्रिया अघि बढाइएको भए पनि तोकिएको समयसीमाभित्र खेल संख्या बढाएर ३२ पुर्‍याइएको हो।

ओलम्पिक कमिटीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग पटकपटक पत्राचार गरे पनि कुनै औपचारिक प्रतिक्रिया नआएको जनाएको छ। पछिल्लो समयमा तेक्वान्दो र फुटबल संघले खेलाडी संख्या पठाए भने एथलेटिक्स संघबाट भने जवाफ नआएपछि, विगतको परम्पराअनुसार म्याराथनमा एक पुरुष र एक महिला खेलाडीको सहभागिता सुनिश्चित गरिएको छ।

महासचिव राजीव श्रेष्ठका अनुसार, “३२ खेलबाट २३९ पुरुष र १९५ महिला गरी जम्मा ४३४ खेलाडीको नाम दर्ता प्रक्रिया पूरा भएको छ।”

यसअघि ओलम्पिक कमिटी र सरकारबीच देखिएको विवादका कारण दर्ता प्रक्रिया अन्योलमा परेको थियो। तर अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटीले अन्ततः खेलाडी दर्ता प्रक्रिया सम्पन्न गरेको हो।

प्रतिक्रिया
सम्बन्धित खबर