नेपाल एयरलाइन्सको काठमाडौं–ग्वाञ्जाओ सिधा उडान असोज ९ गतेदेखि

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गर्ने भएको छ। निगमको इतिहासमै पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं रुटमा उडान सेवा थाल्न लागिएको हो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार ग्वाञ्जाओ उडानका लागि आवश्यक सबै प्राविधिक तयारी पूरा भइसकेको छ र अनुमति पनि प्राप्त भएको छ। प्रारम्भिक चरणमा निगमले असोज ९, १२, ३० तथा कात्तिक २ र ६ गते उडान गर्ने तालिका तय गरेको छ। त्यसपछि प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ नियमित उडान हुनेछ।

भाडादर तोकिँदा काठमाडौं–ग्वाञ्जाओ एकतर्फी टिकटको मूल्य रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ। अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सुरु गर्न पाउनु गौरवको कुरा भएको बताए। साथै, निकट भविष्यमै काठमाडौंबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान गर्ने तयारी भइरहेको जानकारी दिए।

हाल ग्वाञ्जाओ रुटमा चीनको चाइना साउदर्न एयरलाइन्स र नेपालकै हिमालय एयरलाइन्सले सेवा दिइरहेका छन्। तर नेपाली यात्रुको बढी माग हुने यो गन्तव्यमा नेपाल एयरलाइन्स प्रवेशसँगै आर्थिक लाभ हुने अपेक्षा गरिएको छ।

नौ देशका ११ गन्तव्यमा नियमित सेवा

ग्वाञ्जाओ उडान सुरु भएपछि नेपाल एयरलाइन्सले नौ देशका ११ अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्नेछ। हाल निगमका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत दोहा (कतार), क्वालालम्पुर (मलेसिया), दुबई (संयुक्त अरब इमिरेट्स), हङकङ, दिल्ली, मुम्बई, बैङ्गलुरू (भारत), बैंकक (थाइल्याण्ड), दमाम (साउदी अरब) र नारिता (जापान) मा नियमित सेवा दिइँदै आएको छ।

राष्ट्रिय ध्वजावाहकको उडानलाई देशको शान र पहिचानसँग जोडिएको ऐतिहासिक प्रतीक मानिँदै आएको छ। निगमले भविष्यमा पनि कूटनीतिक सम्बन्ध विस्तार र विदेशी पर्यटक आकर्षणमा आफ्नो महत्वपूर्ण भूमिका निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर