यूएईपछि मलेसिया, कतार र साउदीले पनि नेपालीलाई भिसामा कडाइ

६ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेपछि मलेसिया, कतार र साउदी अरबले पनि त्यस्तै कदम चालेका छन्।

२३ र २४ भदौमा नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गरेको हो। त्यसको प्रभाव स्वरूप अन्य खाडी मुलुकहरूले समेत भिसा कडाइ गर्न थालेका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङका अनुसार मलेसिया, साउदी र कतारले हाल सहज रूपमा भिसा दिन छाडेका छन्। उनका अनुसार हालैका दिनमा आवेदन दिनेहरूसँग प्रहरी प्रतिवेदनसहित अनेकन कागजात तत्काल माग्ने गरिएको छ भने धेरैको भिसा अस्वीकृत भइरहेको छ।

यूएईले भिजिट भिसामा पूर्णरूपमा रोक लगाएको छ भने वर्किङ भिसामा पनि कडाइ बढाएको छ। जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरू अन्य मुलुकमा प्रवेश गर्न सक्ने आशङ्कामा यूएईले यस्तो कदम चालेको बताइए पनि यसबारे आधिकारिक जानकारी भने दिएको छैन।

यस्तै, नेपालका अन्य प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, साउदी र कतारले समेत सुरक्षा चुनौतीलाई कारण देखाउँदै नयाँ श्रमिकलाई भिसा दिन कडाइ गरिरहेका छन्।

भिसा कडाइका कारण वैदेशिक रोजगारीमा जाने हजारौँ नेपाली अन्योलमा परेका छन्। यूएई मात्रमा दैनिक पाँच सयभन्दा बढी नेपाली जाने गरेका भए पनि पछिल्लो रोकका कारण उनीहरू प्रभावित भएका छन्।

परराष्ट्र मन्त्रालयले समेत यसबारे गम्भीर चासो राखेको छ र मंगलबार सम्बद्ध देशका राजदूतावासहरूसँग छलफल गर्ने तयारी गरेको छ।

गत वर्ष मात्र ५० हजारभन्दा बढी नेपाली यूएई रोजगारीका लागि गएका थिए भने मलेसिया, साउदी र कतारमा समेत लाखौँ नेपाली कामदार पुगेका थिए। तर, पछिल्लो निर्णयले नेपाली श्रमिकलाई वैकल्पिक गन्तव्य खोज्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर