काठमाडौँ । दसैँ नजिकिँदै गर्दा राजधानी काठमाडौँबाट छुट्ने सार्वजनिक सवारी साधनमा मनपरी भाडा असुली सुरु भएको छ । नियमित ६५० रुपैयाँ भाडा तिर्ने यात्रुले अहिले काठमाडौँ–हेटौँडा मार्गमा कम्तीमा १ हजार रुपैयाँ तिर्न बाध्य भएका छन् ।
बल्खुमा सुमो चढ्न लागेकी सरिता तामाङले टिकटमा ६५० रुपैयाँ काट्दा पनि चालकले १ हजार रुपैयाँ मागेपछि विवाद भयो । अन्ततः अर्को सुमोले पनि त्यही भाडा मागेपछि उनी बाध्य भएर अतिरिक्त पैसा तिर्ने स्थिति आयो ।
यस्तै, रौतहट जान लागेका रोहित तिमल्सिनाले पहिलेको भन्दा दोब्बर भाडा तिर्नुपरेको बताए । चालकहरूले “फर्किँदा खाली आउनुपर्छ” भन्दै मनलाग्दी रकम असुल गरिरहेको उनले गुनासो गरे ।
पुराना गाडीलाई ‘डिलक्स’ को नाममा महँगो टिकट
गोङ्गबु बसपार्कबाट छुट्ने लामो दूरीका बसहरूले सामान्य गाडीलाई रंगरोगन गरेर ‘डिलक्स’ र ‘सुपर डिलक्स’ नाम दिँदै महँगो टिकट काटेका छन् । गुल्मी जान लागेका गोविन्द अर्याल भन्छन्, “अब टिकटमै डिलक्स लेखेपछि भाडा बढाउन पाइने रहेछ । यसरी यात्रु लुटिँदा राज्य र प्रहरी दुवै बेखबर छन् ।”
उपभोक्ता अधिकारकर्मीको टिप्पणी : ‘राज्य संरक्षित लुट’
उपभोक्ता हित संरक्षण महासंघका महासचिव विष्णुप्रसाद तिमिल्सेनाले यसलाई ‘राज्य संरक्षित लुट’ भनेका छन् । उनका अनुसार, १२–१३ सय पर्ने भाडालाई अहिले २५ सयसम्म लिइएको छ । नियामक निकाय नचल्दा चालक–सहचालकले बाटोमै ट्राफिकलाई १००–५०० रुपैयाँसम्म खुलेआम दिनु ‘वैधानिक डकैती’ भएको उनको आरोप छ ।
तिमिल्सेना भन्छन्, “दसैँको समयमा मात्र जनतालाई लुटेर वर्षभरिको आम्दानी गर्ने प्रवृत्ति भएको छ । सरकार सुशासनको कुरा गर्छ, तर यात्रु सहज रूपमा घर फर्किन पाएका छैनन् ।”
विभागको चेतावनी : बढी भाडा लिए कारबाही
यता, यातायात व्यवस्था विभागले चाडपर्वको मौका छोपेर बढी भाडा असुल गर्ने तथा टिकट कालोबजारी गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । विभागले जारी गरेको सूचनामा स्वीकृत भाडादर भन्दा बढी असुल गर्नेलाई कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।
विभागले सार्वजनिक सवारीका सरोकारवालालाई प्रचलित कानुनअनुसार मात्र टिकट काट्न, कटाउन र अनलाइन सेवामा पारदर्शिता ल्याउन आग्रह गरेको छ ।




