काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको पहलमा विद्युत विकास विभागले पहिलो महिला महानिर्देशक पाएको छ। मन्त्रालयको शुक्रबारको मन्त्रिस्तरीय निर्णय अनुसार मनदेवी श्रेष्ठलाई विभागको महानिर्देशकमा नियुक्त गरिएको हो।
यसअघि विभागको नेतृत्व गरिरहेका सहसचिव जीवछ मण्डललाई मन्त्रालयमा सरुवा गरिएको छ। करिब डेढ महिनाअघि मात्रै तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काले मण्डललाई विभागमा पठाएका थिए।
नयाँ जिम्मेवारी पाएकी मनदेवी श्रेष्ठ विभागको इतिहासमै पहिलो महिला महानिर्देशक भएकी छन्। ऊर्जा मन्त्रालयका अनुसार यो निर्णयले महिला नेतृत्वलाई प्रोत्साहन गर्ने र संस्थागत स्तरमा सशक्तिकरणमा योगदान पुर्याउने विश्वास लिइएको छ।
ऊर्जा मन्त्रीमा नियुक्त भएयता कुलमान घिसिङले मन्त्रालय र मातहतका निकायमा कार्यसम्पादनलाई प्रभावकारी बनाउन सरुवा–खटनसहित विभिन्न निर्णय गर्दै आएका छन्। यसअघि उनले नेपाल विद्युत प्राधिकरणमा पनि नयाँ नेतृत्व नियुक्त गरिसकेका छन्।




