यस वर्षको दसैँमा पनि मनसुनी प्रभाव रहने, सतर्क रहन विभागको आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जारी गरेको दसैँ विशेष मौसम बुलेटिनमा नेपालमा हाल मनसुन कमजोर भए पनि अझै पूर्ण रूपमा समाप्त नभएको उल्लेख छ।

सामान्यतया नेपालमा अक्टोबर २ तारिखतिर मनसुन बहिर्गमन हुने गरे पनि प्रत्येक वर्ष यसको समय फरक हुने बताइएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार —

  • असोज १४ (अष्टमी) मा बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

  • असोज १५ (नवमी) मा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा वर्षा हुन सक्नेछ।

  • असोज १६ (दशमी) मा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशका पहाडी–तराई क्षेत्र र मधेस तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ।

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले विभागले मौसम सम्बन्धी सूचना निरन्तर अध्यावधिक गर्न, आवश्यक सतर्कता अपनाउन र गतिविधिहरू सचेत ढंगले सञ्चालन गर्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर