१८ असोज, रौतहट/सर्लाही । रौतहट र सर्लाहीमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। पूर्विया हावासहित जारी वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित निकायहरूले सर्वसाधारणलाई सतर्क रहन अपील गरेका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहट, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय सर्लाही र नेपाल रेडक्रस सोसाइटीसहितका सरोकारवाला निकायहरूले संयुक्तरूपमा सार्वजनिक अपील जारी गर्दै नदी–खोलामा जल सतह आकस्मिक बढ्न सक्ने भएकाले खोला किनारमा नजान, वारपार नगर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेका छन्।
रौतहटका प्रशासन अधिकृत राम नरेश साहले आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सुझाव दिएका छन्। सोही क्रममा नेपाल रेडक्रस सोसाइटी रौतहटका मन्त्री धर्मेन्द्रकुमार सिंहले कम्तीमा दुई दिनसम्म मौसम प्रतिकूल रहने चेतावनी दिँदै सतर्क रहन पुनः अनुरोध गरेका छन्।
हाल बिहान १० बजेसम्म बकैया, बागमती लगायतका ठूला नदीमा जलस्तर सामान्य रहे पनि स–साना नदी र खोलाहरूमा पानीको बहाव बढ्न थालेको देखिएको छ।
लगातार दुई–तीन दिन वर्षा हुने सम्भावनाले धान किसानमा विशेष चिन्ता बढाएको छ। गत वर्ष बाढीका कारण छिटो पाक्ने धान डुबानमा पर्दा ठूलो नोक्सानी भएको अनुभव दोहोरिने आशंका किसानहरूले व्यक्त गरेका छन्।




