असोज १९, काठमाडौँ ।
रौतहट, पर्सा, सर्लाही र महोत्तरीमा बाढीले जनजीवन प्रभावित |
लगातार दुई दिनदेखि परेको अविरल वर्षाले तराईका विभिन्न जिल्लामा बाढी र डुवानको समस्या चर्किएको छ। वागमती, लालबकैया, झाँझ, सिर्सिया, तिलावे, लखनदेही र रातु नदीमा आएको बाढीका कारण रौतहट, पर्सा, सर्लाही र महोत्तरीमा जनजीवन कष्टकर बनेको छ।
रौतहटमा अधिकांश गाउँ डुवान
वागमती, लालबकैया र झाँझ नदीमा आएको बाढीले रौतहटको ठूलो भूभाग डुबानमा परेको छ।
-
गौर–गंगापिपरा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
-
दुर्गाभगवती गाउँपालिकाका करिब २५% घरमा बाढी पस्दा पीडितलाई सरस्वती माध्यमिक विद्यालयमा अस्थायी रूपमा राखिएको छ।
-
राजपुर नगरपालिका–३ मा हुलाकी राजमार्ग बाढीले अवरुद्ध हुँदा सदरमुकाम गौर आवतजावतमा कठिनाइ भएको छ।
-
चन्द्रपुर र गुजरा क्षेत्रका भित्री सडकहरू पनि अवरुद्ध भएका छन्।
-
वृन्दावन नगरपालिकामा १२८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
-
गढीमाई नगरपालिकामा वागमती नदीको बहाव तीव्र भएपछि बाँध फुट्ने उच्च सम्भावना देखिएको छ।
वीरगञ्ज जलमग्न
सिर्सिया र तिलावे नदीमा आएको बाढीले वीरगञ्ज महानगरका वडानम्बर ९, १०, ११, १३ र २४ मा डुवान ल्याएको छ।
मेयर राजेशमान सिंहले स्थलगत निरीक्षण गरी उद्धार र राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। प्रभावितलाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरिएको छ।
सर्लाहीमा लखनदेही खोलाको बाढी
लखनदेही खोलामा आएको बाढीले सर्लाहीको कौडेना गाउँपालिकाका पर्सा र छपकैया टोलका बस्ती डुवानमा परेका छन्।
-
दुई दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन्।
-
करिब सय जना तत्कालै सुरक्षित स्थानमा पुर्याइएको छ।
-
हुलाकी राजमार्ग करिब दुई किलोमिटरसम्म जलमग्न बनेको छ।
-
शिवनगरका ३५० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
महोत्तरीको जलेश्वर डुवानको जोखिममा
रातु नदीमा आएको बाढीले तिन ठाउँमा बाँध कटान गरेपछि सदरमुकाम जलेश्वर उच्च जोखिममा परेको छ।
-
बलवा, लोहारपट्टी लगायतका क्षेत्र असुरक्षित बनेका छन्।
-
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार यदि बाँधमा थप कटान भयो भने जलेश्वरलगायतका क्षेत्र ठूलो बाढीको जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।




