निर्वाचन आयोगसँग छलफल गर्न दलहरूलाई प्रधानमन्त्रीको आग्रह, जेन–जी र एमालेबीच सडकमा पनि आरोप–प्रत्यारोप

२१ असोज, काठमाडौं ।
प्रधानमन्त्रीले आगामी निर्वाचनको वातावरण बनाउन निर्वाचन आयोगलाई दलहरूसँग छलफल गर्न आग्रह गरेका छन् । यता पछिल्ला दिनमा जेन–जी आन्दोलन र एमालेबीचको आरोप–प्रत्यारोप सामाजिक सञ्जालबाट सडकसम्म फैलिँदै गएको देखिन्छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित जेन–जी आन्दोलनका संयोजक सुदन गुरुङ समूहले सोमबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिने प्रयास गरेको थियो । तर प्रहरी प्रशासनले उक्त जाहेरीलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइदिएको छ ।

उता, जेन–जी आन्दोलनलाई ‘अराजकतावादी’ भन्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियु पनि प्रतिवादमा उत्रिएको छ । मंगलबार अनेरास्ववियुका कार्यकर्ताले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिन खोजे । उनीहरूले सार्वजनिक सम्पत्ति तोडफोड, ज्यान मार्ने घटनामा संलग्नता र जासुसीजस्ता आरोप लगाएका छन् ।

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालका अनुसार, प्रहरी परिसरले निवेदनको प्रतिलिपि मात्रै लिएर २४ घण्टाभित्र जवाफ दिने जनाएको छ । “यदि उजुरी दर्ता भएन भने अन्य विकल्प रोज्छौं,” उनले चेतावनी दिए ।

यो घटनाले जेन–जी आन्दोलन र एमालेबीचको द्वन्द्व सामाजिक सञ्जालमै सीमित नरही मुद्दा र सडक प्रदर्शनमा समेत बढ्ने संकेत देखिएको छ ।
जेन–जी तर्फबाट ‘एरेस्ट ओली, एरेस्ट रमेश लेखक’ नामक ह्यासट्याग अभियान सुरु भएसँगै एमाले कार्यकर्ता पनि बालेन र गुरुङलाई पक्राउ गर्नुपर्ने भन्दै काउण्टर अभियानमा सक्रिय भएका छन् ।

यसबीचमा सरकारले बनाएको जाँचबुझ आयोगले घटनाको अनुसन्धान गरिरहेको छ । तर दुबै पक्षबाट एकअर्काविरुद्ध उजुरी र दबाब बढ्दै जाँदा राजनीतिक तनाव अझ गहिरिने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर