भुर्तेलको दमदार अर्धशतकसँगै नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दियो

आइसिसी मेन्स टी-२० विश्वकप एसिया–ईएपी छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध १४१ रनको ठूलो योगफल खडा गरेको छ। अब कुवेतलाई जित्न १४२ रनको लक्ष्य प्राप्त गर्नेछ।

बुधबार ओमान क्रिकेट एकेडेमीमा टस जितेर कुवेतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाउँदै अर्धशतक पूरा गरे। उनले अन्तिम ओभरको पाँचौँ बलमा आउट हुनु अघि उत्कृष्ट पारी खेले।

नेपालको सुरुवात भने राम्रो हुन सकेन। अर्का ओपनर आसिफ शेख २ रनमा एलबिडब्लू भए भने कुशल मल्ल (४ रन) र कप्तान रोहित पौडेल (१६ रन) पनि लामो समय टिक्न सकेनन्। सन्दीप जोरा ५ रनमा आउट भएपछि नेपाल १२ ओभरमै ६३/४ स्थितिमा पुगेको थियो।

मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए भने अन्तिमतिर गुल्सन झाले ६ बलमा ३ छक्का प्रहार गर्दै २० रन जोडे। उनले १९औं ओभरमा भुर्तेलसँगै आक्रामक ब्याटिङ गर्दै २७ रनको बुमबुम गरेका थिए।

कुवेतका नवीनराजले २ विकेट लिए तर उनले ४ ओभरमा ४० रन खर्चे। अन्तिम ओभरमा अनुदिप चेन्थामाराले २ विकेट लिएका थिए।

नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख, रोहिकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।
बेंचमा : करण केसी, आरिफ शेख, लोकेश बम, आदिल अन्सारी।

यस छनोटबाट शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा स्थान सुरक्षित गर्नेछन्।

नेपाल समूह–२ मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार नेपालले जापानसँग दोस्रो खेल खेल्नेछ। समूहको शीर्ष दुईमा पुगे नेपाल सुपर–६ चरणमा प्रवेश गर्नेछ। त्यहाँबाट शीर्ष तीनमा पर्न सके लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक नेपाल विश्वकपमा पुग्नेछ।

समूह विभाजन

  • समूह १ : युएई, मलेसिया, कतार

  • समूह २ : नेपाल, कुवेत, जापान

  • समूह ३ : ओमान, पिएनजी, सामोआ

नेपालका खेलहरू

  • नेपाल भर्सेस कुवेत : असोज २२, बुधबार, राति ८:४५ बजे

  • नेपाल भर्सेस जापान : असोज २४, शुक्रबार, दिउँसो ४:१४ बजे

प्रतिक्रिया
सम्बन्धित खबर