२३ असोज, काठमाडौं । राजधानीको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा बिक्रीका लागि ल्याइएका केही तरकारीमा अत्यधिक मात्रामा विषादी अवशेष भेटिएको छ।
केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटीका १५ पसलबाट संकलन गरेका १५ थरी तरकारी तथा फलफूल परीक्षण गर्दा हरियो फर्सी, काँक्रो र घिरौंलामा ‘अर्गानोफस्फेट’ नामक विषादी सुरक्षित मापदण्डभन्दा बढी मात्रामा फेला परेको हो।
परीक्षणअनुसार मकवानपुरबाट ल्याइएका हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङको घिरौंलामा ६५.०३ प्रतिशत र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत विषादी भेटिएको समितिले जनाएको छ।
सरकारको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम पाइए उपभोगयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म पाइए केही दिन राखेर मात्र खान सकिन्छ। तर ४५ प्रतिशतभन्दा बढी भए उपभोग अयोग्य मानिन्छ।
यसअघि पनि रायो साग, घिउसिमी लगायतका तरकारीमा उच्च मात्रामा विषादी भेटिएको थियो।




