काठमाडौं,
परराष्ट्र मन्त्रालयले गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागको अनुरोधका आधारमा भिजिट भिसामा अन्य मुलुकमा गई वैदेशिक रोजगारीमा संलग्न हुने नेपालीहरूको अवस्था, यसबाट उत्पन्न चुनौती तथा आगामी रणनीति विषयक “भिजिट भिसा सम्बन्धी छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम” सम्पन्न गरेको छ।
उक्त कार्यक्रम परराष्ट्र सचिव श्री अमृत बहादुर राईको प्रमुख आतिथ्यतामा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो, जसमा विदेशस्थित ९ वटा नेपाली नियोगहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वैदेशिक रोजगारीसँग सम्बन्धित समस्याहरूलाई प्रभावकारी रूपमा समाधान गर्दै यस क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित, मर्यादित र भरपर्दो बनाउन परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूबीच घनिष्ठ समन्वयको आवश्यकता र महत्व बारे एकमत सहमति व्यक्त गरिएको थियो।
छलफलमा भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति नियन्त्रण गर्नका लागि एकीकृत सूचना प्रणालीको प्रयोग, अन्तरमन्त्रालयीय समन्वय, द्रुत प्रतिकार्य टोली (Rapid Response Team) गठन, आपतकालीन उद्धार कोष (Emergency Rescue Fund) स्थापना, बीमा व्यवस्थाको सम्भाव्यता अध्ययन, र नियन्त्रित यात्रा अनुमति (Restrictive Travel Authorisation) प्रणाली लागू गर्ने सम्भावनाबारे गहन विचार–विमर्श गरिएको थियो।
त्यसैगरी, मानव तस्करी नियन्त्रण, विदेशस्थित नियोगहरूको संस्थागत क्षमता अभिवृद्धि, भिजिट भिसा सम्बन्धी देशगत नीतिगत भिन्नता र तिनका प्रभाव, कतिपय मुलुकका कफाला प्रणाली र घरेलु कामदारका समस्या, तथा भाषा तथा सीप तालिमको अभावबाट उत्पन्न चुनौतीहरू सम्बन्धमा पनि विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा हालै म्यान्मारका करिब २०० जना रोहिङ्ग्याहरूले नेपाली राहदानी प्रयोग गरी साउदी अरबमा काम गर्न गएको भनिएको विषयमा पनि छलफल भएको थियो। सहभागीहरूले सो प्रकरणमा निजहरूको राहदानी र नागरिकता सम्बन्धी कागजातको सत्यता स्थापना गरी तार्किक निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापन गर्दै परराष्ट्र सचिव राईले सबै नियोग प्रमुखहरूलाई सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको मर्मअनुसार कार्यसम्पादन गर्न, र सीमित स्रोतसाधनको प्रभावकारी उपयोग गर्न निर्देशन दिनुभयो। उहाँले मन्त्रालयले स्रोतसाधन अभावको व्यवस्थापनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।




