हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता, प्राधिकरणले स्वागत गर्‍यो

३१ असोज, काठमाडौं। लामो समयदेखि बिजुली बक्यौता तिर्न बाँकी राख्दै आएको हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले अखेर पहिलो किस्ताको रकम तिरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, सिमरा वितरण केन्द्रअन्तर्गत पर्ने हुलास स्टिलले ५० लाख ४३ हजार रुपैयाँ बुझाएको हो। यो रकम बक्यौता तिर्न सुरु गरेको पहिलो किस्ता हो।

प्राधिकरणका अनुसार, हुलास स्टिलले २०७२ साल माघदेखि २०७५ साल वैशाखसम्म प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको थियो। सो रकम तिर्नका लागि कम्पनीले २८ किस्ताको सुविधा लिएको छ।

“हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो,” प्राधिकरण स्रोतले जनाएको छ।
विद्युत् प्राधिकरणले उद्योगको पहललाई सकारात्मक संकेतका रूपमा लिँदै अन्य बक्यौता रहेका ग्राहकहरूलाई पनि समयमै रकम बुझाउन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर